आर्थिक सुधार आयोगले अर्को हप्ताको अन्तिमसम्ममा अन्तरिम प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको छ ।
मुलुकको अर्थतन्त्रको समग्र क्षेत्रमा सुधारका लागि रायसहित प्रतिवेदन पेस गर्न दुई महिना अघि बनेको समितिले अर्को साता पहिलो चरणको काम सकेर अन्तरिम प्रतिवेदन बुझाउने तयारी गरेको हो ।
हालसम्म १९ जिल्लामा अन्तरक्रिया र काठमाडौँमा हरेक दिन दुई समूहमा छलफल गरिरहेको समितिले हालसम्म विभिन्न निकाय, व्यक्ति र समूह तथा निजी क्षेत्रको सुझाव लिएको र अब मन्त्रालयसँग बैठक बस्न बाँकी रहेको जनाइएको छ ।
आयोगका संयोजक पूर्वसचिव रामेश्वर खनालले पहिलो २ महिनामा आयोगको कार्यालय व्यवस्थापनदेखि प्रतिवेदनको ढाँचासम्म निर्माण गरेर अन्तरिम प्रतिवेदन अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । उनका अनुसार वैशाखसम्मको समयावधि पाएको समितिले वैशाखमै अन्तिम प्रतिवेदन बुझाउने उनले बताए ।