सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ ।
उनका भाइ गजेन्द्र वस्तीका अनुसार हृदयाघातका कारण गएराति उनको निधन भएको हो ।
काठमाडौँको नयाँबजारस्थित आफ्नै निवासमा गएराति हृदयाघात भएपछि पूर्वन्यायाधीश वस्तीलाई थापाथलीस्थित नर्भिक अस्पताल पुर्याइएको थियो । तर चिकित्सकले त्यहाँ पुग्नेबित्तिकै मृत घोषणा गरेका थिए ।
उनी करिब ६ वर्ष सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीश थिए । २२ भदौ २०६५ मा नियुक्त भएका उनी पदावधि नथपिएपछि २९ चैत, २०७० मा अस्थाथी न्यायाधीशबाटै अवकाश भएका थिए ।
सर्वोच्च अदालतबाट अवकाश भएपछि उनी ६ वर्ष मानव अधिकार आयोगको सदस्य बने । पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा नेतृत्वको आयोगमा उनी २ कात्तिक २०७१ देखि १ कात्तिक २०७७ सम्म सदस्यको रुपमा काम गरेका थिए । त्यसपछि अवकाशयुक्त जीवन बिताइरहेका उनी न्याय र कानूनको क्षेत्रमा अध्ययन, अनुसन्धान एवं पुस्तक लेखनमा संलग्न थिए ।
७१ वर्षीय पूर्वन्यायाधीश वस्तीका श्रीमती, ३ छोरी र १ छोरा छन् । छोरा विदेशबाट आउन लागेकाले आइतबार मात्रै उनको अन्तिम संस्कार गरिने भाइ गजेन्द्रले जानकारी दिए ।