प्रधानाध्यापकले छात्रालाई दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित

Image

महोत्तरीको एक विद्यालयका प्रधानाध्यापकले छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् ।

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–२ स्थित लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार झाले ७ कक्षामा पढ्ने एक छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै सोही विद्यालयका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

शुक्रबार विद्यालयको आफ्नो कक्षासँगै अन्य कक्षामा समेत आफूमाथि प्रधानाध्यापक झाले दुर्व्यवहार गरेको जानकारी छात्राले गराएकी थिइन् । आइतबार विद्यालय समय सुरु भएसँगै विद्यार्थी आन्दोलित भएका हुन् । आन्दोलित विद्यार्थीले प्रअ झामाथि कारबाही हुनुपर्ने माग राखेका छन् ।

विद्यार्थी आन्दोलनमा उत्रिएपछि आरोपबारे बुझ्न भन्दै प्रअ झालाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर सोधपुछ गर्ने काम भइरहेको महोत्तरीका प्रहरी प्रमुख नकुल पोखरेलले जानकारी दिए ।

उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि टायर बालेर प्रअ झामाथि कानूनी कारबाहीको माग राखेका छन् ।