भीम रावलले भेटे स्वतन्त्र सांसद जोशी र कांग्रेस बीपी उपसभापति मल्ल

Image

नेकपा (एमाले) बाट निस्कासनमा परेका भीम रावलले नयाँ पार्टी खोल्ने तयारी गरेका छन् । योसँगै नेता रावलले सुदूरपश्चिमका नेताहरूसँग भेटघाट गरेका छन् ।

रावलले काठमाडौंस्थित टोखा निवासमै सोमबार नेपाली कांग्रेस डडेल्धुराका पूर्वसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद तारा जोशीसँग छलफल गरेका हुन् ।

रावलसँग भेटेका मल्ल नेपाली कांग्रेस डडेल्धुराका पूर्वजिल्ला सभापति हुन् भने जोशी नेकपा एकीकृत समाजवादीका पूर्वकेन्द्रीय सदस्य हुन् । गएको निर्वाचनमा पार्टीबाट टिकट नपाएपछि सुदूरपश्चिम प्रदेशसभामा स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका थिए ।

आफू निकटहरुसँग छलफलमा रहेको भन्दै उनले भनेका थिए, ‘एमालेमा देशभक्त, केपी ओलीको स्वेच्छाचारी, निरंकुश तानाशाही आचरणबाट आजित भएकाहरु, अपराधी र देशघातीहरुलाई च्याप्ने र देशभक्त र इमानदारलाई पार्टीमा काम गर्न नदिएर किनारा लगाउने क्रियाकलाप छ । त्यसका विरुद्ध उभिनेछन् भन्ने मैले विश्वास गरेको छु । अब सबैको भावनालाई समेटेर अगाडि बढ्छु ।’

नेता रावलले देशव्यापी रुपमा कार्यकर्ताहरु, कैयौं स्वतन्त्र व्यक्तिहरु, नागरिक समाज, देशभक्तहरु जोडिइसकेको दाबी गरेका छन् ।

नेता रावलले आगामी यात्राबारे जानकारी दिन बुधबार पत्रकार सम्मेलन पनि राखेका छन् ।