माधव नेपालसँग निर्णायक छलफल गर्न आलोकनगर पुगे वामदेव

Image

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेकपा एमालेका पूर्वउपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

नेकपा एसको केन्द्रीय कार्यालय आलोकनगर पुगेर नेता गौतमले अध्यक्ष नेपालसँग भेट गरेका हुन् । नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने सहमति गरेका गौतम आज निर्णायक छलफलका लागि पार्टी कार्यालयमै पुगेका हुन् ।

पछिल्लो समय नेता नेपाल–गौतमबीच भेटवार्ता बाक्लिएको छ । गौतमलाई एकीकृत समाजवादीमा तेस्रो वरियतासहित वरिष्ठ नेता बनाइने बताइएको छ ।

एकीकृत समाजवादीमा प्रवेश गर्न नेता गौतमले शर्त अगाडि सारेका छन् । जननेता मदन भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ लाई पार्टीले स्वीकार गरेर अगाडि बढ्नुपर्ने उनको शर्त छ । तर, पार्टीको दोस्रो बरियतामा रहेका सम्मानित नेता झलनाथ खनाल भने जबजको विरुद्धमा छन् ।