नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो अरुण जलविद्युत आयोजना विश्व बैंक र एडिबीबाट वित्तीय व्यवस्थापन नभए नेपाली जनताको लगानीमा बनाउने तयारी रहेको बताएका छन् ।
कार्यकारी निर्देशक घिसिङले माथिल्लो अरुण जलविद्युत आयोजना विश्व बैंकको नेतृत्वमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबाट असारभित्रमा वित्तीय व्यवस्थापन गर्ने गरी प्रक्रिया अगाडि बढिरहेको बताए । उनले असारभित्र पनि वित्तीय व्यवस्थापन हुन नसके स्वदेशी बैंक तथा वित्तीय संस्था र नेपाली जनताको लगानीमा माथिल्लो तामाकोशीको मोडलमा निर्माण गर्ने योजना रहेको उल्लेख गरेका थिए ।
घिसिङले प्राधिकरणले माथिल्लो अरुण जलविद्युत आयोजनालाई नेपाल सरकार, प्रदेश सरकार, आयोजना प्रभावित जिल्लाका स्थानीय तह, आयोजना प्रभावित जिल्लावासी, सर्वसाधारणको शेयर लगानी, अन्तर्राष्ट्रिय बहुपक्षीय विकास साझेदारको सहुलियतपूर्ण ऋण र स्वदेशी बैंक तथा वित्तीय संस्थाको ऋण लगानी रहने गरी मिश्रित लगानी (ब्लेन्डेड फाइनान्सिङ) को नमूना परियोजनाको रूपमा अगाडि बढाउन खोजिरहेको बताए ।
तनहुँमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजना समयमै सम्पन्न हुँदा नेपालको रिजर्भर आयोजनामा ठूलो योगदान गर्ने पनि घिसिङले बताए ।
नेपालमा उत्पादित विद्युत गुणस्तरीय सप्लाईको लागि आवश्य ट्रान्समिसन लाइन पनि क्रमिक रुपमा बनाउँदै गएको घिसिङले बताए । उनले प्राधिकरणले बनाउन सुरु गरेको ट्रान्समिसन लाइन प्रायः सम्पन्न हुने तयारीमा रहेको जानकारी दिए । उनले बुटवलदेखि बर्दघाटसम्मको १२० केभीको ट्रान्समिसन पनि सम्पन्न भएको बताए ।