बीमा गरेर बीचैमा छाड्ने बिमितको संख्या ह्रवात्तै बढेको छ । चालु आर्थिक वर्ष २०८१–८२ को पाँच महिनासम्ममा ६ अर्ब १० करोड ७२ लाख ४२ हजार रुपैयाँको बीमालेख परित्याग भएको हो। बीमा प्राधिकरणका अनुसार मंसिर मसान्तसम्म १४ वटा बीमा कम्पनीको ४५ हजार ६० वटा बीमालेख सरेन्डर भएका छन् ।
पछिल्लो एक महिनामा भने बिमितले १ अर्ब २७ करोड ७५ लाख रुपैयाँबराबरको बीमालेख सरेन्डर गरेका छन् । गत कात्तिकसम्म कुल ४ अर्ब ८२ करोड ९७ लाख रुपैयाँबराबरको बीमा सरेन्डर भएकोमा मंसिरमा २६ प्रतिशतले बढेर ६ अर्ब १० करोड रुपैयाँ बराबरको बीमालेख सरेन्डर भएको हो।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै सरेन्डर लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) कम्पनीमा छ। संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीमध्ये एलआईसी नेपालको १० हजार ३१७ वटा पोलिसीबाट १ अर्ब ६७ करोड ९६ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो ।
यस्तै नेपाल लाइफ इन्स्योरेन्सका ११ हजार ७९३ वटा बीमा पोलिसी बापत अर्ब ९३ करोड ३५ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको छ । राष्ट्रिय जीवन बीमा कम्पनीको ५ हजार ४१० वटा बीमा पोलिसी वापत ५१ करोड ३२ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको छ । नेशनल लाइफ इन्स्योरेन्सको २ हजार ५४१ वटा पोलिसीबाट ३७ करोड ११ लाख रुपैयाँ सरेन्डर भएको छ ।
मेट लाइफको १ हजार ५१६ वटा पोलिसीबाट १७ करोड २३ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको छ । एशियन लाइफ इन्स्योरेन्सको ३ हजार ७५२ वटा बीमा पोलिसीबाट ४० करोड १४ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको छ । आइएमई लाइफको ७६३ वटा बीमा पोलिसीबाट ८ करोड ४३ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको छ ।
सन नेपाल लाइफको २९५ वटा बीमा पोलिसीबाट २ करोड ९४ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको छ । यस्तै रिलायबल नेपाल लाइफको ७०८ वटा बीमा पोलिसीबाट ४ करोड ४६ लाख, सिटिजन लाइफको १ हजार १०८ वटा बीमा पोलिसीबाट ८ करोड, सूर्यज्योति लाइफको २ हजार ४८८ सय वटा पोलिसीबाट ३२ करोड ६४ लाख, सानिमा रिलायन्स लाइफको ७८७ वटा पोलिसीबाट १० करोड ९५ लाख, हिमालयन लाइफको ३ हजार ३३ वटा बीमा पोलिसीबाट २८ करोड ३० लाख र प्रभु महालक्ष्मी लाइफको ५४९ वटा बीमा पोलिसीबाट ७ करोड ८० लाख रुपैयाँको पोलिसी सरेन्डर भएको छ । पछिल्लो समय बीमा क्षेत्रमा पोलिसी सरेन्डर निकै बढ्न थालेको छ ।
सरेन्डर हुने बीमालेखमा एकल प्रिमियम भएको पोलिसी उच्च रहेको छ । ऐनअनुसार बिमितले ३ किस्ता तिरेको खण्डमा मात्रै बीमालेख सरेन्डर गर्न पाउँछन् र उनीहरुले तिरेको रकम फिर्ता पाउँछन्। तीन किस्ता नतिर्दै बीमालेख त्याग्नेको विवरण भने प्राधिकरणले राख्ने गरेको छैन ।