महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्यजस्ता विभिन्न क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीतिअनुरुप विभिन्न्न कार्यक्रम सम्पन्न गरेको छ ।
सोहीअन्तर्गत बैंकले कर्णाली प्रदेश अन्तर्गत १० जिल्लाका सरकारी विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) पास गरी काठमाडौं उपत्यकामा प्लस टु तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभिटी)अन्तर्गत डिप्लोमा अध्ययन गर्न चाहने आर्थिक अवस्था कमजोर भएका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो ।
बैंकले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालिकोटसँगको समन्वयमा लक्षित विद्यार्थीलाई छात्रवृत्ति बराबरको रकम उपलब्ध गराएको हो । यसले आर्थिक अभावमा कुनै पनि विद्यार्थीले उच्च शिक्षा हासिल गर्न अवरोध नहुने बैंकको विश्वास छ ।