नेकपा (एमाले)को कारबाहीमा परेका नेता भीम रावलले एमालेले साधारण सदस्यसमेत खोसेपछि विकल्प खोज्नुपरेको बताएका छन् ।
एमालेले पार्टीको साधारण सदस्यबाट कारबाही गरेपछि बुधबार पत्रकार सम्मेलन गरेका रावलले ओलीको निर्णयविरुद्ध प्रश्न उठाउने र देशभक्तहरुलाई निरंकुश शैलीमा हटाउन थालेको बताए । पार्टीमा रहँदा आन्दोलन, पार्टीको पदाधिकारी र पार्टीबाट सांसद, मन्त्री र शान्ति प्रक्रियामा राष्ट्रलाई केन्द्रमा राखेर काम गरेको भन्दै एमालेले साधारण सदस्यका रूपमा समेत भूमिका खेल्न रोकेपछि विकल्प खोज्न बाध्य भएको उननले बताए ।
उनले भने, ‘निरंकुश र अन्यायपूर्ण ढंगले सदस्यता नै खाएपछि पार्टीको कर्मठ सदस्यको रुपमा जीवन पर्यन्त रहिरहने मेरो अवस्था रहेन । त्यसैले आज देश र जनताको हितको लागि नयाँ विकल्पमा हिँड्न बाध्य भएँ ।’
उनले पार्टी जीवनको ४९ वर्ष र राजनीतिक जीवनको ५१ वर्ष केपी ओलीले खोसेको बताए । रावलले अध्यक्ष ओलीले वार्ताको नाटक गरेर पछि खबर गर्छु भनेकामा खबरसमेत नगरी कारबाही गरेको उल्लेख गरे ।
“मलाई अध्यक्षमा उम्मेदवारी किन दिएको भनेर प्रश्न गर्नुभयो । तपाईंलाई त्यही प्रश्न गर्न चाहन्छु, तपाईंले झलनाथ खनालविरुद्ध सातौँ महाधिवेशनमा र माधवकुमार नेपालविरुद्ध तपाईंले किन उमेदवारी दिएको ?,” रावलले भने, “के पार्टी अध्यक्षमा निश्चित भूगोल र शिक्षाको सीमा भएकाले मात्र उमेदवारी दिने हो ?”
उनले सत्ता र पद हत्याउने होडको कारणले ठूला दलहरु सिद्धान्तहीन, गन्तव्यहीन बाटोमा लागेको टिप्पणी पनि गरे ।