एमालेबाट निष्काशनमा परेका भीम रावलले १०औं महाधिवेशनमा मुस्किलले प्रतिस्पर्धा गर्न पाए पनि अध्यक्षमा जितेपछि केपी ओलीलाई बधाई दिन समेत नपाएको बताएका छन् । निष्काशनमा परेपछि बुधबार पत्रकार सम्मेलन गर्दै रावलले यस्तो बताएका हुन् ।
‘८औं महाधिवेशनमा झलनाथ खनाल र नवौंमा माधव नेपालसँग प्रतिस्पर्धा गरेपछि उहाँ फेरि किन अध्यक्षमा उठेको ?’, रावलले प्रश्न गर्दै भने, ‘पार्टीमा स्वस्थ प्रतिस्पर्धा गर्न समेत बञ्चित गर्न खोजियो । तर, जसोतसो म उम्मेदवार बन्न खोज्दा छेक्ने अनेक प्रयत्न गरियो । महाधिवेशनस्थलमा उपस्थित हुन समेत गाह्रो पारियो । कतिसम्म भयो भने अध्यक्ष जितेपछि बधाई ज्ञापन गर्छु भन्दा समेत पाइनँ ।’
पार्टीको विधि, पद्धति र मान्यताविपरीत आफूलाई व्यवहार भएको रावलले बताए । पार्टी नेताको रूपमा सम्बोधन नगरीकन स्पष्टीकरण सोधेकोले जवाफ नदिएको उनको भनाइ छ ।
तर, वार्ता गर्नका लागि आफू तयार भए पनि बेवास्ता गरिएको रावलले बताए । आफूलाई जानकारी नै नदिई सल्लाहकार परिषद्का सदस्य बनाइएको पनि उनले बताए ।
‘मलाई थाहा नै नदिइ तँ सल्लाहकार परिषद्को सदस्य थिइस् भनियो’, रावलले भने, ‘तर, कहिलेदेखि सल्लाहकार भइस्, यो पदमा किन काम गरिनस् भनेर भनिएन ।’
उनले आफूले पार्टीको निर्णय विरुद्ध कहीँ नबोलेको दाबी पनि गरे । ‘एमालेको कुन नीति, निर्णय र नेतृत्वको विरुद्ध कहाँ के बोलें ? खोई खुलाएको ?’, रावलको प्रश्न छ, ‘मेरो विरुद्ध जनमत बनाउन कुत्सित आरोप लगाउने ?’