नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शेरा दरबारको जग्गा फिर्ता ल्याउन सरकारलाई आग्रह गरेका छन् ।
गृहमन्त्री रमेश लेखकलगायतका समिति सदस्यहरु उपस्थित बिहीबारको राज्य व्यवस्थापन तथा सुशासन समितिको बैठकमा बोल्दै उनले कानुन विपरीत भए फिर्ता ल्याउन सरकारलाई भनेका हुन् । उनले भने, ‘शेरा दरबारको जग्गाबारे कानूनविपरीत काम भएको छ भने फिर्ता ल्याइयोस्, म सरकारलाई धन्यवाद भन्छु ।’
प्रचण्डले दोषी जो सुकै भएपनि कारबाही गरिनुपर्ने बताएका छन् । उनले भने, ”जो कोही पनि कानुन मिचेर भ्रष्टाचारमा संलग्न देखिन्छ भने जो कोही कानूनको दायरामा ल्याउनुपर्छ भनेर म प्रधानमन्त्री भएको बेला भनेको थिएँ । शेरा दरबारमा दोषीलाई कारबाहीको दायरामा ल्याइयोस् ।”
बैठकमा एमाले सांसद वासुदेव घिमिरेले शेरा दरबारको जग्गाबारे राखेको जिज्ञासामा प्रचण्डले यसबारे बताएका हुन् । सांसद घिमिरेले गृहमन्त्री लेखकसँग जवाफ माग गरेका छन् । ‘शेरा दरबारबारे भएको के हो ? गृहमन्त्रीले स्पष्ट गर्न आवश्यक छ,’ सांसद घिमिरेले भने ।
यसअघि १५ पुषमा झापाको गौरीगञ्ज गाउँपालिकामा आयोजित खबरदारी सभा तथा बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले शेरा दरबारको जग्गासँग जोडेकोप्रति आपत्ति जनाएका थिए ।
नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ (साविक भैरवी गाविस ७) मा रहेको शेरा दरबार पृथ्वीनारायण शाहको पालामा बनेको थियो ।
यहाँ दरबार र जग्गा गरी कुल १८४ रोपनी चार आना क्षेत्रफलको जग्गा छ । दरबारको जग्गा कुनै एक कम्पनीका नाममा नियन्त्रणमा रहेको विषय बाहिर आएको छ ।