नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्ट्राचार फाइल खोज्ने विषयलाई धम्कीको विषय बनाउन नहुने बताएका छन् ।
सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा उनले सत्तापक्ष र प्रतिपक्षीबिच भ्रष्ट्राचार फाइल खोल्ने विषयमा आरोप प्रत्यारोप भएको देखिएकाले यसलाई धम्कीको विषय बनाउन नहुने बताए ।
उनले भ्रष्ट्राचार कुन कुन फाइल खोल्ने भन्ने विषयमा सहमति नै गरि अघि बढ्न शीर्ष नेताहरूलाई सुझाव दिए । फाइलको कुरा सुन्दा सुन्दा नागरिकहरुपनि आजित भइसकेको र उनीहरूमा नेताहरूप्रति नकारात्मक सोच उत्पन्न भएको उनले बताए । निर्दोष कोही पनि नपर्ने र दोषी नउम्कने गरि भ्रष्टाचारसम्बन्धी काम गर्न शक्तिशाली आयोग बनाउन प्रमुख दल तयार हुनुपर्ने उनको भनाइ छ ।
सरकारमा रहँदा मौन रहने र सरकारबाट बाहिर रहेपछि भ्रष्टाचारको फाइल खोल्ने भन्नेमा शीर्ष नेताहरू समेत देखिएकाले छलफल शीर्ष तहमै हुनुपर्ने आफूलाई लागेको उनले बताए ।
‘बनाउने भए शक्तिशाली आयोग बनाऔँ । सबैको सम्पत्ति छानबिन गरौँ । हामी सबैको गरौँ । बाहिर यो वा त्यो भ्रष्टाचारको फाइल खोल्नुपर्छ नभनिरहौं’, महामन्त्री थापाले भने ।