भीम रावलको आरोपमा एमालेको प्रतिक्रिया– प्रचण्डको कपी पेस्ट जस्तो

Image

नेकपा (एमाले)ले पूर्वउपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएका आरोप तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै कपीपेस्टको संज्ञा दिएको छ ।

बिहीबार बसेको एमाले सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले रावलले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको दस्तावेज सोही प्रकृतिको भएको टिप्पणी गरेका हुन् ।

“२०७७ साल कार्तिकमा लगभग यिनै भाषामा प्रचण्डले तत्कालीन नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई यस्तै खालको टिप्पणी गर्नुभएको थियो,” ज्ञवालीले भने, “सायद १९ पेजको थियो । एक हिसाबले कपी पेस्टजस्तै हो ।”

साढे ३० पृष्ठको गालीगलौज र आधा पृष्ठ मात्र योजना रहेकाले रावलमा कति नकारात्मकता रहेछ भन्ने प्रस्ट भएको उनले बताए । रावलको अभिव्यक्ति अपेक्षित नै भएको उनले उल्लेख गरे । एमाले गालीगलौजको प्रतिस्पर्धामा नरहेको उनको भनाइ छ ।

पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकका निर्णय सुनाउँदै पार्टीका उपमहासचिव ज्ञवालीले पुस २१ र २२ गते बस्ने केन्द्रीय कमिटीका निम्ति तयार गरिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने निर्णय गरेको जानकारी पनि दिए । उनले राजनीतिक प्रतिवेदनका मुख्य मुख्य विषयहरुमा छलफल भएको पनि बताए ।