कर्णाली प्रदेशको हिउँदे अधिवेशन माघ ७ गते आह्वान गर्न सिफारिस गरिएको छ । शुक्रबार (पुस १९) गते बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले अगामी माघ ७ गते अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले आजको मन्त्रिपरिषद् बैठकले विभिन्न १८ वटा निर्णय गरेको जानकारी दिए ।
प्रवक्ता शाहका अनुसार कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत गर्ने, कर्णाली प्रदेशसभाको चौथो अधिवेशन अन्त्यभई बैठक सञ्चालन नभएको अवस्थामा सभाको अधिवेशन सुचारू भएर समितिले पूर्णता पाए पश्चात् दलित समुदायको सशक्तिकरण र जीवनस्तर प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई यथाशीघ्र समितिमा छलफल गरी अगाडि बढाउने निर्णय भएका छन् ।
उक्त निर्णय भएसँगै दलित अधिकारका लागि एकीकृत आन्दोलन नेपालले विगत १८ दिनदेखि गर्दै आएको आन्दोलनसमेत शुक्रबारदेखि स्थगित भएको मन्त्री शाहले बताए ।