प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको औचित्य स्थापित गर्न र सेवामा प्रभावकारिता दिन महिला जनप्रतिनिधिहरुले सक्रिय भूमिका निर्वाह गरेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित जनप्रतिनिधिहरुको सम्मान ‘शी लिड्स आइकन’ कार्यक्रममा प्रधानमन्त्री ओलीले नगरपालिका र गाउँपालिकाको इज्जत धान्ने र औचित्य स्थापित गर्ने काममा महिला जनप्रतिनिधिले अगुवाइ गरेको बताए । उनले स्थानीय तहको अध्यक्ष वा उपाध्यक्ष एक पदमा महिला हुनुपर्ने व्यवस्थाले स्थानीय तहको कामकारवाही राम्रो भएको धारणा राखे ।
हिजोका दिनमा छोरीहरुको साक्षरताको स्तर माथि आउन नसकेकामा आज महिलाहरु शासन गर्ने ठाउँमा पुग्नु राजनीतिक परिवर्तनको उपलब्धि भएको उनको भनाइ थियो । उनले व्यवस्थामा परिवर्तन भयो, अवस्थामा परिवर्तन भएन भन्ने गलत भाष्य चिर्न महिला जनप्रतिनिधिहरुको उपस्थिति र सक्रियता नै काफी रहेको बताए । स्थानीय तहमा ४० प्रतिशत जनप्रतिनिधि रहेको भन्दै उनले यसलाई बढाउनुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री ओलीले महिलाहरुमा करुणा, माया र स्नेहभाव बढी हुने र उनीहरुको भूमिका हरेक क्षेत्रमा उत्कृष्टता र श्रेष्ठता हासिल गरेको उल्लेख गरे । कार्यक्रममा विभिन्न पालिकाबाट छानिएका २७ महिला जनप्रतिनिधि र तीन उत्कृष्ट महिला जनप्रतिनिधिलाई आइकन सम्मान प्रदान गरिएको थियो ।