सर्लाहीमा स्थानीयसँग झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड हवाई फायर गरेको छ । सर्लाहीको रामनगर गाउँपालिका–५ स्थित वैजनाथ चोकमा मापसे चेकिङमा खटिएको प्रहरीसँग स्थानीय युवासँग विवाद भएपछि तनाव सिर्जना भएको थियो ।
गएराति करिब नौ बजे नयाँरोड-मधुवनी सडकखण्डमा पर्ने बैजनाथ चोकमा प्रहरी निरीक्षक उज्वल कार्कीको कमाण्डमा ११ जनाको प्रहरी टोली सवारी साधान र मापसे जाँचमा खटिएको थियो । सो क्रममा प्रहरीमाथि नै आक्रमण भएपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको मधेश प्रदेश प्रहरी प्रवक्ता एसपी सुवास बोहोराले बताए ।
सोही क्रममा राननगर गाउँपालिका–५ वडाध्यक्ष श्रीनन्दन यादवसहितको टोलीले चेकिङलाई अवरोध गर्न खोजेका थिए । वडाध्यक्ष यादवको नेतृत्वमा १५० जनाको टोली चौकी घेराउका लागि पुगेका थिए । उनीहरुको आक्रमणबाट प्रहरी हवल्दार शैलेन्द्र रायको टाउकोमा चोट समेत लागेको बोहराले बताए । यादवको उपचार जनकपुर न्यूरो अस्पतालमा भइरहेको छ ।
त्यसपछि स्थिति नियन्त्रण लिने क्रममा प्रहरीले ५ राउण्ड हवाई फायर गरेको हो । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले सर्लाहीका डीएसपीको कमाण्डमा थप टोली झिकाएको थियो । प्रहरीका अनुसार वडाध्यक्ष श्रीनन्दन राय पनि मादक पदार्थ सेवन गरेर पुगेका थिए ।














