हैटीमा भूकम्प: कम्तिमा ३ सय ४ जनाको मृत्यु, १८ सयभन्दा धेरै घाइते

शनिबार हैटीमा गएको ७.२ रेक्टर स्केलको भूकम्पमा परि कम्तिमा ३ सय ४ जनाको मृत्यु भएको छ भने १८ सयभन्दा धेरै घाइते भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार शनिबार बिहान आएको भूकम्पले देशको पश्चिमी क्षेत्रमा धेरै क्षति पु-याएको थियो ।

त्यहाँ भवन, होटल, चर्चलगायत भग्नावशेषमा परिणत भएका छन् । प्रधानमन्त्री एरियल हेन्रीले एक महिना लामो संकट घोषणा गरेका छन् । भूकम्पका कारण सयौँ निजी तथा सामुदायिक भवनहरू भत्किएका अपुष्ट सूचनाहरू प्राप्त भएका हाइटीका अधिकारीले बताएका छन् ।

भूकम्पको केन्द्रबिन्दु घना बस्ती भएको राजधानी, मध्य पोर्ट–अउ–प्रिन्सबाट १६० किलोमिटर टाढा रहेको बताइएको छ । हाइटीमा गएको भूकम्पको झट्का छिमेकी मुलुकहरूसमेत महसुस गरिएको छ ।

प्रकोपले ग्रस्त क्यारेबियन राष्ट्र हाइटीको पश्चिममा भूकम्पपछि सुनामी आउनसक्ने भन्दै हजारौँ मानिसलाई समूद्र किनारबाट टाढा तथा अग्लो सुरक्षित स्थलतर्फ जान आग्रह गरिएको छ ।

युएसजीएसले हाइटीको तटवर्ती इलाकामा भूकम्पपछि तीन मिटर (झन्डै १० फिट) सम्म छालहरू आउनसक्ने चेतावनी दिएको छ ।

यस पहिले हाइटीमा सन् २०१० को जनवरीमा गएको ७.० रेक्टर स्केलको भूकम्पले पोर्ट–अउ–प्रिन्स र नजिकैका अधिकांश शहरहरूमा ठूलो क्षति भएको थियो । उक्त भूकम्पमा परी कम्तीमा दुई लाखभन्दा बढी मानिसको ज्यान गुमेको थियो । तीन लाखभन्दा बढी घाइते भएका उक्त घटनामा साढे एक लाखभन्दा बढी हाईटीबासी घरबारविहीन भएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार