नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध सर्वोच्च अदालतमा दायर भएको अदालतको अवहेलना मुद्दामा विवादित वक्तव्यको श्रव्यदृश्य सामग्री झिकाउने आदेश भएको छ ।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्धय डा नहकुल सुवेदी र अब्दुल अजीम मुसलमानको संयुक्त इजलासले उक्त खादेश दिएको हो ।
सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द्र प्रसाद घिमिरेले टिप्पणी उठाएर दायर गरेको सो मुद्दामा यसअघि गत कात्तिक १ गते कारण देखाउ आदेश जारी भएको थियो । कात्तिक १ गते सर्वोच्च अदालतका न्यायाधीशद्धय कुमार रेग्मी र कुमार चुडालको संयुक्त इजालसमा उक्त मुद्दाको प्रारम्भिक सुनुवाइ हुँदै कारण माग गरिएको थियो ।
न्याय परिषद् नियमावली सच्याउन माग गर्दै लामो समयदेखि बार आन्दोलनमा उत्रिएको छ । बारको आन्दोलनलाई बेवास्ता गर्दै निवर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उच्च अदालतका मुख्य न्यायाधीशद्धय नित्यानन्द पाण्डे र नृपध्वज निरौलालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका थिए ।
उक्त सिफारिसपछि अध्यक्ष घिमिरेले लेनदेनका आधारमा यो निर्णय भएको आरोप लगाएका थिए ।