प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी अन्जला कोइरालालाई १० लाख धरौटीमा रिहा गर्न मोरङ जिल्ला अदालतले आदेश दिएको छ ।
न्यायाधीश उद्धवकुमार भट्टराईको इजलासले अन्जलालाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए ।
सहकारी ठगीको अभियोगमा मुद्दा चलाइएपछि बुधबार अदालतमा उपस्थित भएकी उनलाई जिल्ला अदालतले थुनामा बस्नु नपर्ने गरी आदेश दिएको हो ।
सहकारी ठगी प्रकरणमा फरार कोइराला आज बिहान मोरङ जिल्ला अदालतमा उपस्थित भएकी हुन् । मोरङ धनपालथान-४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा नाम मुछिएकी कोइराला अदालतले पक्राउ पुर्जी जारी गरेपछि फरार थिइन् ।
कोइरालासहित सहकारीका अध्यक्ष शम्भु रौनियार,रंगली २ का वडाअध्यक्ष सन्तलाल खवास गरी २६ जनाविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।
इलाका प्रहरी कार्यालय रंगेलीले बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालय मोरङले गत मंसिर २७ गते अञ्जला र सहकारीका अध्यक्ष रौनियारसहित २६ जनाविरुद्ध २६ करोड ४८ लाख २७ हजार रुपैयाँ बिगो मागसहित मुद्दा दर्ता गरेको थियो ।