रवि लामिछानेसहितको थुनछेक बहस सकियो, आजै आदेश आउने सम्भावना

Image

सूर्यदर्शन सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका प्रतिवादीको थुनछेक बहस सकिएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा सरकारी वकिलले जवाफी बहस गरेसँगै थुनछेक बहस सकिएको हो । आज नै आदेश आउन सक्ने स्रेस्तेदार खनालले जानकारी दिए ।

सरकारी वकिल कार्यालयतर्फबाट न्यायाधिवक्ता कमला काफ्ले र सहन्यायाधिवक्ता गोविन्दराज गौलीले गरेका हुन् । अहिले न्यायाधीशले प्रतिवादीलाई आफ्ना कुरा राख्न समय दिएका छन् । न्यायाधीश राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात प्रतिवादीको थुनछेक बहस जारी छ ।

रविसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाईं, रामबहादुर गुरुङ, आरती गुरुङ, पूर्वसांसद मिना गुरुङ र कृष्णबहादुर गुरुङमाथी थुनछेक बहस भएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पुस ५ र पुस ७ गते गरी सूर्यदर्शन सहकारी ठगीमा संलग्न ६३ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दायर गरेको थियो । वकिल कार्यालयले १ करोड ५१ लाखभन्दा बढी विगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो ।

लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमा समेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । लामिछानेसँगै खनाल, जोशी र पछाईंविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा छ ।