न्यायाधीशसमक्ष रविले भने– बाहिर बसेर मुद्दा लड्न पाउँ, हरेकपटक पीडितको रिपोर्ट बोकेर आउँछु

Image

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूलाई थुनामुक्त गर्न अदालतसँग आग्रह गरेका छन् । आज इजलासमा न्यायाधीशले बोल्न समय दिएपश्चात उनले आफ्नो भनाइ राखेका थिए ।

रविले सहकारीको पैसा फिर्ता गराउन आफूले पहल गर्ने भन्दै बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने बताए ।

उनले भने, ‘म गृहमन्त्री हुँदा पनि शक्तिको दुरुपयोग गरिनँ । सहकारीको पैसा फिर्ता गर्न निरन्तर प्रयास गर्छु । प्रत्येक पटक सहकारीपिडितको पक्षमा मैले गरेका कामको फाइल लिएर आउने छु ।’

कम्पनीमा आएको पैसा खर्च गर्नु आफ्नो जिम्मेवारीको कुरा भएको उनले प्रष्ट पारे । संसदीय छानविन समतिले पनि कम्पनी ऐन अनुसार गरिएको र सहकारीबाट पैसा लिने प्रक्रियामा आफ्नो संलग्नता नरहेको निचोड निकालेको उनले सुनाए । कानून मिचेर मुद्दा दर्ता भएको रविले आरोप लगाए ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाका आरोपित लामिछानेलाई न्यायाधीश राईले बोल्न दिएका थिए ।

बिहीबार केही समयअघि मात्र सरकारी वकिलका तर्फबाट जवाफी बहस सकिएको छ । त्यसपछि न्यायाधीश राईले प्रतिवादीलाई बोल्न समय दिएका थिए । लामिछानेले सो क्रममा आफूलाई छोड्न अनुरोध गरेका हुन् ।