पर्वतारोही निर्मल पुर्जाको कम्पनीलाई एक करोडभन्दा बढी क्षतिपूर्ति दिन आदेश

Image

पर्वतारोही निर्मल पुर्जाको कम्पनीलाई काठमाडौं जिल्ला अदालतले एक करोडभन्दा बढी क्षतिपूर्ति भर्न आदेश दिएको छ । काठमाडौंको कपनस्थित निर्मलले भाडामा लिएर व्यवसाय गरेको घरका मालिकलाई १ करोड १३ लाख ९९ हजार क्षतिपूर्ति भर्न आदेश दिएको हो ।

कपन लसुनटारस्थित टंक घिसिङ र उनकी श्रीमती दालमु कित्तर घिसिङलाई क्षतिपूर्ति भर्न पुर्जाको नाममा जिल्ला अदालतले आदेश जारी गरेको हो । न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले घर भाडामा लिएका निर्मलको कम्पनी इलाइट हिमालयन एडभेञ्चर प्रा. लि. बाट क्षतिपूर्ति भराउन फैसला गरेको हो ।

२०७६ साल मंसिर १ गते घरधनीसंग भाडाको करार संझौता गरी निर्मल पूर्जा समेत तीन जनाले सञ्चालन गरेको इलाइट हिमालयन एडभेञ्चर प्रा।लि। नामको ट्रेकिङ कम्पनीले कार्यालय संचालन गर्दै आएको थियो । कम्पनीले आफ्नो अनुमति नलिई गैर कानुनी रुपमा भण्डारण गरेको अक्सिजन ग्यास र एलपी ग्यास विस्फोटनबाट घर ध्वस्त भएको दावी सहित घिसिङ दम्पत्ति न्यायको याचना गर्दै सरकारी तथा न्यायिक निकायमा लामो समय चक्कर काट्न बाध्य बनेको थियो ।

घर ध्वस्त भएपछि पिडित दम्पत्तिले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृहमन्त्रालय, स्थानीय न्यायिक समितिमा न्यायको गुहार माग्दा समेत क्षतिपूर्ति नपाएपछि काठमाण्डौं जिल्ला अदालतमा दुष्कृतिले भएको क्षतिको रकम दावी गर्दै मुद्दा हालेका थिए ।

पीडित दम्पतीले साढे तीन करोड क्षतिपूर्ति माग गरेका थिए । तर, अदालतले एक करोडभन्दा बढी रकम मात्रै दिन आदेश दिएको हो । वडा कार्यालयको रोहवरमा घर बस्न योग्य नभएको इञ्जिनियरको प्रतिवेदनका आधारमा अदालतले पीडित पक्षको नाममा आदेश दिएको हो ।