प्रधानमन्त्रीले गरे आफ्नै प्रशंसा : केपी ओली साधारण मान्छे हो, इमान्दारीसाथ काम गर्छ

Image

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू साधारण मान्छे भएको र इमान्दारीसाथ काम गरिरहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले आफ्नैबारेमा धारणा राखेका हुन् । 

राजनीतिक प्रतिस्पर्धी नेताहरूले आफ्नैबारेमा विभिन्न टिकाटिप्पणी गरे पनि आफू साधारण र इमानदार भएको ओलीको भनाइ थियो । ‘केपी ओली ? को केपी ओली ? को-को, को केपी ओली ? यति बिर्सिने भइसके क्या, यस्तै बिर्सिएको राम्रो । मेमोरी पावरले तिमीहरूको त्यसैगरी काम गरोस्, केही छैन,’ ओलीले भने, ‘अब को केपी ओली भन्नेकुरा म बताउन्नँ । मैले थाहा पाएको भनेको एउटा साधारण मान्छे हो, इमान्दारीसाथ काम गर्छ ।’

एमाले र आफ्नाबारेमा राजनीतिक दलका नेताहरूले अनेक कुरा लगाए पनि राजनीतिमा आफू इमानदार रहेको ओलीको धारणा थियो । ‘एमालेलाई मार्छौं, सिध्याउँछौँ भने, उधुम कराए, कोही भाला लिएका छन्, कोही के बोकेका छन् । त्यस्तो गरेर कराए । यो चुनावपछि एमाले टर्च लाइट बालेर खोज्दा भेटिँदैन भने । भित्तैमा टाँसिदिन्छु भन्न पुगे,’ ओलीले भने, ‘एमालेलाई भित्तामा टाँसिदिने अरे क्या, लगेर । भित्तामा टाँसेपछि फोटो भएन । एमाले कुनै अस्तित्वमा छैन, एउटा छायाँ बनाउँछु भने ।’

एमालेको अस्तित्व सकिदिने भनेर लागे पनि अहिले एमालेकै नेतृत्वमा सरकार सञ्चालन भइरहेको उनको भनाइ थियो । मुलुकको युवाशक्ति एमालेसँग छ कि छैन भन्ने कुरा फागुन १५ को अनेरास्ववियुको निर्वाचनबाट देखाउनुपर्ने पनि ओलीको भनाइ थियो ।