हवाई टिकट नपाएपछि स्थलमार्गबाट काठमाडौँ आउँदै रवि

धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने स्थलमार्ग हुँदै काठमाडौं आउने भएका छन् ।

पोखराको सूर्यदर्शन सहकारी ठगी अभियोगमा कात्तिक २ देखि कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका पूर्वगृहमन्त्री लामिछाने कास्की जिल्ला अदालतको आदेशमा ६५ लाख रुपैयाँ धरौटी बुझाएर बिहीबार बेलुका रिहा भएका हुन्।

आज (शुक्रबार) उनी हवाईमार्गबाट काठमाडौँ आउने तयारीमा रहे पनि श्रीमती निकिता पौडेलसहित पार्टीका साथीको संख्या धेरै भएपछि हवाई टिकट नपाएपछि गाडीमै आउने भएका हुन्।

उनले बिहीबार साँझ नै बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएका थिए । धरौटी बुझाएपछि रविलाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने शर्तमा परिवारको जिम्मा लगाएको थियो ।

त्यसो त उनीविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन तथा पर्साको सानो पाइला सहकारी ठगीको पनि अभियोग छ।