नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत आर्थिक वर्ष (आव) २०८०/८१ मा गरेको कार्यसम्पादन विवरण मूल्यांकनका निम्ति ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेस गरेका छन् ।
कार्यकारी निर्देशक घिसिङले बिहीबार गत आवमा सम्पादन गरेका काममा ९८.९९ प्रतिशत अंक दाबी गरी मूल्यांकनका लागि मुख्य कार्यसम्पादन सूचकांक समेटिएको विवरण बिहीबार पेस गरेका हुन् ।
मन्त्रिपरिषद्को २०७८ साउन २५ निर्णयबाट घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षका लागि दोस्रोपटक नियुक्त गरिएको थियो । मन्त्रिपरिषद्को निर्णयका आधारमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र घिसिङबीच २०७८ माघ ५ मा प्राधिकरण सुधारका विभिन्न सूचकांकसहित कार्यसम्पादन सम्झौता भएको थियो ।
आव २०७८/७९ र २०७९/८० को कार्यसम्पादनमा उनले क्रमशः ९४.२३ र ९८.९४ प्रतिशत अंक पाएका थिए । कार्यसम्पादन सम्झौताको मूल्यांकनमा प्राप्तांकका आधारमा घिसिङले प्रोत्साहन भत्ता पाउने व्यवस्था छ ।
घिसिङले भदौ महिनाभित्र विवरण उपलब्ध नगराएको, त्यसपछि पटकपटक माग गर्दा पनि दिन अटेर गरेकाले कार्यसम्पादन मूल्यांकन नै गर्न नसकिने अवस्था सिर्जना भएकाले तपाईंको नियुक्ति किन अन्त्य नगर्ने ? भन्ने स्पष्टीकरण मन्त्रालयले गत २२ पुसमा सोधेको थियो ।
आफूसँग गरिएको कार्यसम्पादन करारअनुरुप पदबाट हटाउने तयारी सरकारले गरेपछि घिसिङले कार्यसम्पादन विवरण मन्त्रालयलाई उपलब्ध गराएका हुन् ।
प्राधिकरणले गत आवमा १४ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको थियो । आव २०७२/७३ मा एकै वर्ष प्राधिकरण आठ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा थियो । ०७३/७४ मा एक अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाउँदै प्राधिकरणले नाफाको इतिहास सुरु गरेको थियो ।
त्यसपछि प्राधिकरण निरन्तर नाफामा छ । आठ वर्षअघि प्राधिकरण ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा थियो । प्राधिकरण हाल ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ ।
प्राधिकरणले गत आवमा प्रणालीको विद्युत् चुहावट करिब १२.७३ प्रतिशतमा झारेको थियो । आठ वर्षअघिसम्म प्रणालीबाट २५.७८ प्रतिशत विद्युत् चुहावट भइरहेको थियो । आव २०७९/८० मा विद्युत् चुहावट १३.४६ प्रतिशत थियो ।
प्राधिकरणले आठ वर्षमा विद्युतीकरणमा ठूलो सफलता हासिल गरेको छ । आव २०७२/७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र थियो । तीन वर्षअघि ८९.७ र विद्युतीकरण हाल ९९ प्रतिशत पुगेको छ ।
इक्रा नेपालले गरेको क्रेडिट रेटिङमा प्राधिकरणले निरन्तर ‘डबल ए प्लस’ रेटिङ पाइरहेको छ । यसबाट प्राधिकरण आफ्नो वित्तीय तथा आर्थिक दायित्व ढुक्कसँग वहन गर्न सक्ने क्षमतामा देखिएको छ ।
गत आवको वर्षायाममा देशभित्र खपत गरी बढी भएको विद्युत् भारततर्फ निर्यात गरी प्राधिकरणले १७ अर्ब सात करोड रुपैयाँ आम्दानी गरेको थियो । गत आवमा नेपालले आयातभन्दा करिब १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात गरेको थियो ।