राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले महिला आयोग बाहेक अन्य संवैधानिक आयोगको नेतृत्वमा महिला नभएको भन्दै असन्तुष्टि जनाएकी छन् ।
संसदीय समितिको आइतबारको बैठकमा बोल्दै पराजुलीले महिला आयोग बाहेक अन्य आयोगको नेतृत्वमा महिला नभएको भन्दै असन्तुष्टि जनाएकी हुन् ।
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले आज निजामती सेवा विधेयकका विषयमा छलफलका लागि संवैधानिक आयोगका पदाधिकारीहरूलाई बोलाएको छ ।
छलफलमा बोल्ने क्रममा अध्यक्ष पराजुलीले महिला आयोगमा चाहिँ महिला अध्यक्ष हुनुपर्ने भएर महिला हुन सकेको तर, अन्य आयोगमा बाध्यकारी व्यवस्था नहुँदा महिलाले नेतृत्व गर्न नपाएको बताएकी हुन् ।
उनले भनिन्, ‘सातवटा आयोगमध्ये महिला आयोग बाहेक अन्य आयोगमा नेतृत्वमा महिला हुनुहुन्न । नेतृत्व गर्न सक्ने महिला नभएर त पक्कै होइन । महिला आयोग बाहेक अन्य आयोगमा थुपुक्क १ जना सदस्य हुनुहुन्छ, मुस्लिम आयोगमा त त्यो पनि हुनुहुन्न । मलाई लाग्छ, मिल्ने भए महिला आयोगमा पनि पुरुषकै नेतृत्व हुन्थ्यो। त्यहाँचाहिँ महिला हुनुपर्ने भनेको भएर महिला छौं ।’
कानुनमा बाध्यकारी व्यवस्था नगरेसम्म महिलाले अवसर पाउन नसक्ने पराजुलीको टिप्पणी छ ।