स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका अभियुक्त तथा रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बहस आज हुँदैछ ।
काठमाडौँ जिल्ला अदालतमा दायर भएको मुद्दामा आइतबार सरकारी वकिलहरुले बहस नगरेपछि प्रहरी हिरासतमै बसेका उनको सोमबार थुनछेक बहस हुन लागेको हो । रविको बयान समयमै सकिए पनि सरकारी वकिलले बयान अध्ययनका लागि भन्दै समय मागेपछि आइतबार थुनछेक बहस शुरू हुन सकेको थिएन ।
लामिछाने थुनछेक बहस नसकिँदासम्म हिरासतमै रहनेछन् । आइतबार बिहान उनी आफैँ अदालतमा हाजिर भएका थिए । आज थुनछेक बहस सकिए आजै आदेश आउनेछ ।
रविविरुद्ध कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं अदालतमा मुद्दा दर्ता गरिएको छ । स्वर्णलक्ष्मी सरकारीको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाइएको छ ।
गएको बिहीबार लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । धरौटी रकम बुझाएर उनी बिहीबार नै थुनामुक्त भएका थिए ।