वाणिज्य बैंकहरूले माघ महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् ।
सार्वजनिक विवरणअनुसार, माघ महिनामा १७ वटा बैंकहरुले पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । बाँकी दुई वटाले ब्याजदर घटाएका छन् भने एक बैंकले ब्याजदर बढाएको छ ।
ब्याजदर घटाउनेमा कृषि विकास बैंक र नेपाल एसबिआइ बैंक रहेका छन् । कृषि विकास बैंकले माघ महिनाका लागि व्यक्तिगतमा ५.५१ र संस्थागतमा ३.२५ तोकेको छ । बैंकको यस्तो ब्याजदर व्यक्तिगतमा ५.५७ र संस्थागतमा ३.२५ थियो । नेपाल एसबिआइ बैंकले व्यक्तिगतमा ५.५ र संस्थागतमा ४.५ ब्याजदर तोकेको छ ।
यस्तै पुसको तुलनामा लक्ष्मी सनराइज बैंकले ब्याजदर बढाएको छ । पुसमा लक्ष्मी सनराइजले व्यक्तिगत मुद्दति निक्षेपमा ५.५ प्रतिशत र संस्थागत तर्फ ४.५ प्रतिशत ब्याज प्रदान गरेको थियो माघमा भने बढाएर क्रमशः ५.७५ प्रतिशत र ४.५ प्रतिशत दिने भएको हो ।
प्रकाशित ब्याजदरअनुसार निक्षेपमा सबैभन्दा बढी ब्याज दिने बैंक एनआईसी एशिया र एनएमबि रहेका छन् भने सबैभन्दा कम नेपाल एसबीआईले दिनेछ ।
