नेपाल टेलिकमले प्रतिशेयर ३० रुपैयाँले लाभांश दिने, मुनाफा ६ अर्ब २३ करोड

Image

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को सत्रौँ वार्षिक साधारणसभा २०८१ पुस २८ गते सम्पन्न भएको छ । राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को मुनाफा रकम मध्येबाट प्रतिशेयर ३० रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

साधारणसभामा करिब ९१.६२ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीहरुको उपस्थिति रहेको थियो । उक्त सभाले आर्थिक वर्ष २०८०।८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।

यसैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०८१/८२ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउन्टेन्टद्वय नरेन्द्र भट्टराई र प्रकाश जंग थापालाई लेखापरीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिक समेत तोकेको छ ।

सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले साधारणसभामा उपस्थित शेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीको सत्रौँ वार्षिक प्रतिवेदन पेश गरेकी थिइन् । प्रतिवेदन प्रस्तुत गर्दै उनले यस क्षेत्रमा रहेको तीव्र प्रतिष्पर्धि वातावरणमा मुनाफाभन्दा बढी सेवाभावलाई उच्च प्राथमिकतामा राखी भौगोलिक रुपले अति विकट तथा दुर्गम क्षेत्रमा सेवा विस्तार तथा वितरण गर्दै डिजिटल नेपाल बनाउने नेपाल सरकारको अवधारणामा सहयोग गर्ने, विद्युतीय सुशासनको क्षेत्रमा सदा झैं थप सहयोगी भूमिका निर्वाह गर्ने तथा अप्टिकल फाईबरको माध्यमबाट सूचना महामार्ग निर्माण गरी डिजिटल डिभाइड कम गर्ने तर्फ कम्पनीले आफ्ना कार्यक्रमहरुलाई परिलक्षित गरिरहेको बताइन् ।

समीक्षा अवधिमा कम्पनीको २ करोड ३० लाखभन्दा बढी सन्तुुष्ट ग्राहक पुगेको उल्लेख गर्दै अध्यक्ष अर्यालले भनिन्, ‘आन्तरिक तथा बाह्य वातावरणमा देखिएका विविध प्रतिकूलताकाबीच कम्पनीले कुल रु ४२ अर्ब ११ करोड आम्दानी गरी रु ६ अर्ब २३ करोड मुनाफा आर्जन गर्न सफल भएको छ । समीक्षा अवधिमा कम्पनीले कर तथा शुल्कवापत आफ्नो कूल आयमध्ये ४१ अर्ब ५९ करोड राजस्वको रुपमा नेपाल सरकारलाई बुझाइ राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याएको छ ।’

कम्पनीले सूचना प्रविधिलाई थप गुणस्तरीय तथा प्रभावकारी बनाउन फोरजीरएलटीई प्रविधिमा आधारित भोल्टे तथा एफटीटीएच सेवा विस्तार सम्पन्न गरी स्तरोन्नति तथा वितरणलाई निरन्तरता दिँदै आएको अर्यालले बताइन् ।

अति विकट र दुर्गममा रहेका बाँकी स्थानीय तहहरूमा उपयुक्त प्रविधिको उपयोग गरी सेवा विस्तार गर्ने कार्यलाई निरन्तरता दिइएको, देशैभर हाईव्यान्डविथ कनेक्टिभिटी विस्तार गर्ने र कन्टेन्टमा आधारित भ्यालु एडेड सर्भिसहरूको विस्तार गर्ने नीतिलाई निरन्तरता दिइएको उनको भनाइ थियो ।

‘टु जी प्रविधिमा आधारित भ्वाइस सेवा प्रयोग गर्ने ग्राहकहरूको सङ्ख्यालाई मध्यनजर गरी यसको गुणस्तरमा वृद्धि र सुधार गर्नुका साथै फोर जी सेवालाई सम्पूर्ण ग्राहकहरूको माझमा पुर्‍याउने कार्यलाई निरन्तरता दिइएको छ,’ उनले भनिन्, ‘नेपाल दूरसञ्चार प्राधिकरणबाट फाइभ जी प्रविधिको परीक्षण अनुमति प्राप्त भएअनुसार आवश्यक पूर्वाधारसहित परीक्षण सफल भएपश्चात् फाइभन जी सेवाको व्यावसायिक सञ्चालनको लागि अध्ययन भइरहेको छ ।’

कम्पनीको साधारण सभाले पारित गरेबमोजिमको लाभांश रकम पुस २८गतेदेखि नै सर्वसाधारण सेयरधनीहरुलाई वितरण गर्ने व्यवस्था मिलाइएको नेपाल टेलिकमले जनाएको छ ।