बाँकेको राप्तीसोनारी १ सौरी मोडस्थित पूर्वपश्चिम राजमार्गमा सोमबार भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार कोहलपुरदेखि दाङतर्फ जाँदै गरेको डिजेल बोकेको ना८ख ३३३ नम्बरको ट्याङ्कर र दाङदेखि कोहलपुरतर्फ आउँदै गरेको भे९प ९५१७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा नगढी उपमहानगरपालिका ३ बस्ने घमनबहादुर शाही र कैलाली धनगढी उपमहानगरपालिका १४ बस्ने रुपेश बस्नेत रहेका छन् । सो दुर्घटनामा परेर गम्भीर घाइते भएका उनीहरुको नेपालगन्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालमा उपचारका क्रममा दुवैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको जानकारी आउनेबित्तिकै इलाका प्रहरी कार्यालय कोहलपुरबाट सो कार्यालयका प्रमुख डिएसपी धर्मराज भण्डारीको नेतृत्वमा प्रहरी टोलीले घटनास्थलमा पुगेर घटनाको विस्तृत जानकारी लिनुका साथै घाइतेलाई अस्पताल पुर्याएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
दुर्घटनाको कारण दुवै सवारीसाधन तीव्र गतिमा रहेकोले नियन्त्रण गर्न नसकी एक आपसमा ठोक्किएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।