माघी पर्वको अवसरमा राष्ट्रपति कार्यालय शीतल निवासमा शुभकामना आदानप्रदान कार्यक्रम राखिएको छ ।
मङ्गलबार आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विभिन्न दलका शीर्ष नेताहरूले शुभकामना आदानप्रदान गरेका छन् ।
शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रपति पौडेलले मुलुकका विद्यमान समस्यालाई मध्यनजर गर्दै राष्ट्रिय हितको मूल उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढ्नुपर्ने बताए ।
राष्ट्रपति पौडेलले हाम्रो संविधान र सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको मूल लक्ष्य पनि देशमा सुशासन, विकास र शान्ति कायम गर्नु भएको बताए । उनले विभिन्न जातजातिले उत्सवका रुपमा मनाउने यस प्रकारका पर्वले नेपालीबीच आपसी प्रेम, भ्रातृत्व तथा मेलमिलापको भावना अभिवृद्धि गर्दै सबैलाई एकताको सूत्रमा बाँध्न र राष्ट्रिय एकतालाई सुदृढ गराउन योगदान दिने विश्वास व्यक्त गरे ।
कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्व राष्ट्रपतिद्वय रामवरण यादव र विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्रीहरु, उपप्रधानमन्त्री, मन्त्री, सांसदलगायत उपस्थित थिए ।


