संविधान संशोधनमा साझा धारणा बनाउने मधेशवादी दलहरु बीच सहमति

Image

मधेश केन्द्रित राजनीतिक दलहरुले संविधान संशोधनमा साझा धारणा बनाएर अघि बढ्ने सहमति गरेका छन् ।

मंगलबार काठमाडौंमा बसेको मधेश केन्द्रित राजनीतिक दलहरूको कार्यदल स्तरीय बैठकले संविधान संशोधन गर्दा मधेशको मुद्दालाई सशक्त रुपमा सम्बोधन गर्नुपर्ने भएकाले साझा धारणा बनाएर अघि बढ्ने सहमति गरेका हुन् ।

दुईदलीय प्रणालीमा लैजाने, थ्रेस होल्ड लगायतका विषयले देशको राजनीतिलाई नै असर पार्ने काम भइरहेकाले साझा ढंगले अघि बढ्ने सहमति समेत भएको जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले जानकारी दिए । उनले मधेश केन्द्रित राजनीतिक दलहरुहरु अब मोर्चा बनाएर अघि बढ्ने भन्दै आगामी बैठकमा साझा एजेण्डा तयार गरिने बताए । विभिन्न कारणबस मधेश केन्द्रितदलहरु बिभाजित भएकाले भन्दै अब सहकार्य गर्ने प्रण गरिएको र वार्ता समितिलाई सक्रिय बनाएर अघि बढ्ने उनले बताए ।

बैठकमा जनता प्रगतिशील पार्टी लगाएत राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीका नेता, स्वतन्त्र सांसद अमरेशकुमार सिंहलगाएत सहभागी थिए । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई पनि बैठकमा बोलाएपनि कार्यव्यस्तताका कारण उपस्थीत हुन नसकेको र अर्को बैठकमा सहभागी हुने जवाफ आएको त्रिपाठीले बताए ।