समाजवादी मोर्चाले माघ १६ गते काठमाडौंमा कार्यक्रम गर्ने निर्णय गरेको छ ।
बुधबार नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा बसेको बैठकले कार्यक्रम गर्ने निर्णय गरेको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिए । ‘माघ १६ गते काठमाडौंमा समाजवादी मोर्चाको तर्फबाट कार्यक्रम गरौं भन्ने निर्णय भएको छ,’ उनले भनेका छन् ।
त्यस्तै, बैठकले समाजवादी मोर्चाको गति सुस्त भएको समीक्षा गरेको उनले बताए । आगामी दिनमा मोर्चालाई सक्रिय बनाउने निर्णय गरेको छ । ‘हाम्रा पार्टीका आन्तरिक कामका कारण समाजवादी मोर्चा थोरै धिमा गतिमा बस्यो,’ उनले भने, ‘अब त्यसलाई अघि बढाउने प्रतिवद्धता भएको छ ।’
त्यस्तै, मोर्चाको आठौँ बैठकले आगामी कार्यक्रम बनाउने जिम्मा सचिवालयका नेतालाई दिएको थियो ।
आजको बैठकमा विषय समेत समेटेर माघ १२ सम्ममा सचिवालयका नेताहरूले प्रतिवेदन शीर्ष नेतालाई बुझाउने निर्णय भएको प्रकाण्डले बताए । समाजवादी मोर्चामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी र नेपाल समाजवादी पार्टी (महिन्द्रराय यादव समूह) छन् ।
मोर्चा गठन हुँदा जनता समावादी पार्टी पनि थियो । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला जसपा विभाजन भएको थियो । त्यसयता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव मोर्चामा छैनन् । उनलाई क्रियाशील बनाउने पक्षमा नेताहरू छन् । उपेन्द्रले बैठकमा सहभागी नहुने जवाफ दिएका छन् ।