इजरायल र हमासबीच गाजामा युद्धविराम गर्ने सहमति भएको छ । युद्धविराम र बन्धक बनाइएकाहरूको रिहाइका लागि सम्झौता भएको छ ।
इजरायल र हमासबीचको यो सम्झौता कतारमा अन्तिम रूप दिइएको छ । कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाको सोमबारदेखि लगातारको प्रयत्न बुधबार राति सफल भएको जानकारी एक स्रोतले बीबीसीलाई दिएको हो ।
सम्झौताको औपचारिक रूपमा घोषणा भने गरिएको छैन । यो सम्झौताले लाखौं विस्थापित गाजाहरूलाई घर फर्कन अनुमति दिनेछ भने बन्धकहरूको रिहाइको सुनिश्चितता गरेको छ ।
गाजामा हमास र इजरायलबीच अक्टोबर ७, २०२३ देखि युद्ध चलिरहेको छ । हमासले अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गर्दा २५१ जनालाई बन्धक बनाएको थियो । जवाफमा इजरायलले हमासविरुद्ध गाजामा सैन्य आक्रमण सुरु गर्दा युद्ध जारी रहेको हो ।
हाल भने हमाससँग ९४ इजरायली बन्धक मात्र बाँकी छन् । तर इजरायलले यी बन्धकमध्ये ६० जना मात्र बाँचेको बताएको छ । नेपाली विद्यार्थी विपिन जोशीसमेत हमासको बन्धक बनेका छन् । यो सम्झौतासँगै विपिनको रिहाइको पनि बाटो खुलेको छ ।
गाजास्थित हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा हालसम्म ४६ हजार ५०० भन्दा बढी प्यालेस्टिनी मारिएका छन् ।