नेपाली कांग्रेसले पाँच दिन मन्त्रालयको काम गरेर दुई दिन सर्वसाधारण र नेता कार्यकर्ताका लागि दिन मन्त्रीहरूलाई निर्देशन दिएको छ ।
बिहीबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा १० मन्त्री र दुई राज्यमन्त्रीको सामूहिक ब्रिफिङ लिएपछि सभापति देउवाले मन्त्रीहरूलाई काममा केन्द्रित हुन निर्देशन दिएका हुन् ।
यस्तै बैठकले हालै जारी भएका ५ अध्यादेश सत्ता साझेदार दलसँगको सल्लाहमै आएको बताएको छ । बैठकमा भएको छलफलमा सभापति देउवा लगायतका नेताहरुले अध्यादेश सल्लाहमा आएको र अनावश्यक चर्चा गर्नू आवश्यक नभएको निष्कर्ष निकालेको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
‘अध्यादेशको विषयमा हामी स्पष्ट छौं । सल्लाह गरेरै अध्यादेश ल्याइएको हो । अध्यादेश ल्याउन तत्कालै जरुरी थियो’ बैठकपवछि सञ्चारकर्मीसँग घिमिरेले भने ।
बैठकमा केपी शर्मा ओली नेतृत्वको सरकारका बारेमा पनि छलफल भएको थियो । छलफलपछि सरकारमा कुनै पनि समस्या नरहेको निष्कर्ष निकालेको गृहमन्त्री रमेश लेखकले बताए । ‘हामी दुई दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनेको छ । हाम्रा बीचमा कुनै समस्या छैन,’ गृहमन्त्री लेखकले भने, ‘सरकारमा कुनै बाधा, व्यवधान अप्ठेरा छैनन् । आ–आफ्नो मन्त्रालयमा थप कसरी राम्रो काम गर्ने भन्ने कुरामा छलफल भएको छ ।’
त्यस्तै सभापति देउवाले मन्त्रीहरुलाई हप्तामा दुई दिन जनतामाझ जान पनि निर्देशन दिएका छन् । ५ दिन प्रतिवद्ध भएर काम गर्न र दुई दिन जनताका पीरमर्का बुझ्न सभापतिले निर्देशन दिएको प्रमुख सचेतक घिमिरेले जानकारी दिए ।