अफगानिस्तानका तालिवान लडाकुहरू आइतबार राजधानी काबुल पस्न थालेका छन् । अमेरिकाले त्यहाँस्थित दूतावासबाट कूटनीतिज्ञहरुलाई हेलिकप्टरमार्फत खाली गराएपछि तालीवानहरु काबुल पस्न थालेको अफगानिस्तानको गृह मन्त्रालयका अधिकारीले बताएका छन् ।
यसैबिच राष्ट्रपति अशरफ घानी अमेरिकी राजदूत तथा नेटोका अन्य अधिकारीहरुसँग आकस्मिक छलफलमा जुटेका छन् । विद्रोही तालिवान काबुलमा चारैतिरबाट प्रवेश गर्ने तयारी गरिरहँदा राष्ट्रपति घानी छलफलमा जुटेका हुन् ।
तालिवानले हिंसा सुरु गरेयता शनिबार पहिलो पटक देशवासीलाई सम्बोधन गर्दै राष्ट्रपति घानीले देश अत्यन्तै खतरनाक अवस्थामा पुगेको बताएका थिए । अफगानिस्तानको सुरक्षा र प्रतिरक्षालाई मजबूत बनाउन प्रयासहरु भइरहेको उनले बताएका थिए । तर तालिवान काबुलमा प्रवेश गर्न खोज्दा तालिवानले सेनाबाट थोरै मात्रै अवरोधको सामना गर्नुपरेको छ ।
सुरक्षाकर्मी हतोत्साहित भएर तालिवानसँग भिड्ने स्थितिमा नरहँदा राष्ट्रपति अशरफ घानीमाथि राजिनामाका लागि दबाब बनेको छ । अमेरिकाले भने काबुलस्थित आफ्नो दूताबास खाली गराउने प्रकृयाका लागि पाँच हजार बढी सेना सहयोगका लागि तैनाथ गरेको छ ।