अफगानिस्तानका गृहमन्त्रीले भने- शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण हुन्छ

अफगानिस्तानका गृहमन्त्री अब्दुल सत्तार मिर्जाक्वानले संक्रमणकालीन सरकारको लागि शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण हुने बताएका छन् । तालिबानले आफ्ना लडाकूलाई काबुलको गेटमा नै रोकेको वक्तव्य जारी गरेसँगै गृहमन्त्री मिर्जाक्जवालले यस्तो बताएका हुन् ।

‘अफगान जनताले चिन्ता गर्नुपर्दैन… सहरमा कुनै हमला हुँदैन । संक्रमणकालीन सरकारलाई शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण हुन्छ,’ रेकर्ड गरिएको सन्देशमा उनले भनेका छन् ।

यसअघि तालिबानका प्रवक्ताले पनि काबुलमा आक्रमण नगर्ने र वार्तामार्फत् शक्ति हस्तान्तरणका लागि छलफल भइरहेको बताएका थिए । तालिबानले शक्ति प्रयोग गरेर राजधानी कब्जा नगर्ने बताएसँगै काबुलमा पछिल्लो समय आतङ्क केही कम भएको अलजजिराले जनाएको छ । सडकमा देखिएको ट्राफिक केही कम भएको छ । गृह मन्त्रालयले पनि लडाकुहरू सहरको प्रवेशद्वारमा रहेको तर मुख्य सहरमा प्रवेश नगरेको स्पष्ट पारेको छ ।

अहिले तालिबान र सरकारी अधिकारीहरुबीच वार्ता भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार