अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले सोमबार शपथ लिँदैछन् । शपथ ग्रहणका लागि उनी वासिङ्टन पुगेका छन्। शपथ ग्रहणअघि ठूलो संख्यामा जम्मा भएर उनका समर्थकहरूले विजयी जुलुस निकालेका छन् । विजयी जुलुसमा ट्रम्प पनि सरिक भएका छन् ।
ट्रम्पको शपथ ग्रहण अमेरिकी संसद भवन ‘क्यापिटल’ मा हुनेछ । उनको भव्य शपथ ग्रहणका लागि सबै तयारी पूरा भइसकेको छ । शपथ ग्रहण समारोहमा सरिक हुन ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई पनि निम्ता दिएका थिए ।
राष्ट्रपति जो बाइडेन र ट्रम्पसँग चुनाव हारेकी कमला ह्यारिसले शान्तिपूर्ण तवरबाट सत्ता हस्तान्तरण हुने बताएका थिए ।
गत कात्तिक भएको चुनावमा ट्रम्पले ३१२ इलेक्टोरल कलेज जित्दै राष्ट्रपति निर्वाचित भएका थिए। राष्ट्रपतिको शपथ लिएलगत्तै उनले केही महत्त्वपूर्ण निर्णय लिने भनेका छन् ।
ट्रम्पले दोस्रोपटक कार्यभार सम्हाल्दै गर्दा सीमासँग सम्बन्धित, आप्रवासी, आर्थिक र जलवायु परिवर्तनसँग सम्बन्धित एक सय भन्दा बढी कार्यकारी आदेश जारी गर्ने बताइएको छ।