काममा क्रियाशील हुन जिसस प्रमुख र उपप्रमुखहरुलाई राष्ट्रपतिको सुझाव

Image

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति पौडेलले बजेट, योजना र कार्यादेश अनुसार काम भए/नभएको अनुगमन र समन्वय गर्ने काममा क्रियाशील हुन जिल्ला समन्वय समितिका प्रमुख एवम् उपप्रमुखहरुलाई आग्रह गरेका छन् ।

आज बिहान शीतल निवासमा भएको भेटघाटमा राष्ट्रपति पौडेलले आफ्नो भूमिकामा क्रियाशील र जागरुक हुन सुझाव दिएका हुन् ।

‘गाउँ, नगर र वडामा योजना, प्रक्रिया, कार्यादेश अनुसार काम भए/नभएकोबारे अलिकति चनाखो र सजग भएर क्रियाशीलता बढाउने हो भने विकासका काम पनि अघि बढ्छ, बजेट दुरुपयोग पनि रोकिन्छ र राज्यको पनि ध्यान आकर्षित हुन्छ, यसबाट राष्ट्रको विकासमा योगदान पुग्छ’, राष्ट्रपति पौडेलले भने ।

विभिन्न कठिनाइका बाबजुद तीन तहका सरकार, निजी क्षेत्र, गैरसरकरी क्षेत्रको काममा समन्वय र अनुगमन गर्ने जस्तो महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेको भन्दै उनले संविधान र लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्डका रुपमा रहेका निकायले जनता र विकासलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताए ।

नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त नेपालको संविधानले संघ, प्रदेश र स्थानीय सरकारको व्यवस्था गरेको बताउँदै राष्ट्रपति पौडेलले गाउँपालिका र नगरपालिकाबीच समन्वय तथा विकास निर्माणसम्बन्धी काममा सन्तुलन कायम गर्ने गरी अनुगमन गर्नेलगायतको महत्वपूर्ण जिम्मेवारीसहित जिल्ला समन्वय समितिको व्यवस्था गरिएको स्मरण गरे ।

त्यसैले आफ्नो जिम्मेवारीलाई अझ सशक्त र प्रभावकारी बनाउन बताए नीति/कानुनको स्पष्टताका लागि सम्बन्धित निकायको ध्यान जाने उनले विश्वास व्यक्त गरे ।

साथै राष्ट्रपति पौडेलले महासंघको ३० औँ स्थापना दिवस कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे ।