रवि लामिछानेविरुद्ध जाहेरीवालाका तर्फबाट बहस जारी

सुप्रिम सहकारी ठगी अभियोगका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबारे रुपन्देही जिल्ला अदालतमा जारी थुनछेक बहसमा अहिले जाहेरीवालाका तर्फबाट बहस भइरहेको छ। जिल्ला अदालत रुपन्देहीमा बिहीबार सरकारी वकिलहरूले ४ घण्टा बहस गरेका गरेका थिए।आज पनि सो क्रम जारी रहने र बाँकी रहेका वकिलहरूको बहसपछि रविको पक्षमा रहेका वकिलहरूले बहस गर्नेछन् । आज शुक्रबार भएकाले र रवि पक्षका धेरै वकिल भएर नसकिने भएकाले कम वकिललाई बहस गराएर आजै टुङ्गाउने तयारी छ ।

आज सुरुमा जाहेरवाला तर्फका वकिलहरू वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ता आर्सी गौतमले बहस गरेपछि लामिछानेका वकिलहरूले बहस गर्नेछन् ।

लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता सुशीलकुमार पन्तसहितका अधिवक्ताको बहस सकिएपछि सरकारी वकिल र जाहेरवाला तर्फका वकिलले जवाफी बहस गर्नेछन् ।

त्यसपछि भने न्यायाधीशले थुनछेक आदेशमार्फत रवि पुर्पक्षका लागि थुनामा जाने, धरौटीमा रिहा हुने वा साधारण तारिखमा रिहा हुने आदेश सुनाउनेछन्।

गत माघ ६ गते जिल्ला सरकारी वकिल कार्यालयले पूरक अभियोग पत्रबाट लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनाविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा मुद्दा दर्ता गरेको थियो।

मुद्दामा जीबी राई, रवि लामिछानेसहित २८ जनाबाट ५५ करोडभन्दा बढी र रवि, छविलाल जोशी र लक्ष्मीप्रसाद पौडेलबाट १० करोड ९९ लाख थप बिगो र रविको व्यक्तिगततर्फ २ करोड बिगो समेत दाबी गरिएको छ।