अफगानिस्तानमा तालिबान लडाकूहरुको तर्फबाट अली अहमद जलाली अन्तरिम राष्ट्रपति बन्ने

अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले आइतबार देश छाडेका छन् । राष्ट्रपति घानीले देश छाडेसँगै तालिबान लडाकूहरुको तर्फबाट अली अहमद जलाली देशको अन्तरिम राष्ट्रपति बन्ने बताइएको छ । जलाली अफगानिस्तानका पूर्वगृहमन्त्रीसमेत हुन् । जलाली जनवरी २००३ देखि सेप्टेम्बर २००५ सम्म आन्तरिक मन्त्री थिए ।  तालिबानका उपनेता मुल्ला ब्रादर अन्तरिम सरकार बनाउन जलालीको साथ काबुल आइपुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

विद्रोही तालिबान लडाकूहरु देशको केन्द्रीय राजधानी काबुल प्रवेश गरेपछि राष्ट्रपति घानीले आइतबार साँझ देश छाडेका हुन् । प्राप्त समाचारअनुसार शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्ने बारेमा छलफल भइरहेका बेला उनले देश छोडेर ताजिकिस्तान गएका हुन् ।

तालिबान विद्रोहीका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सामाजिक सञ्जाल ट्वीटर मार्फत राजधानी काबुलस्थित जिल्ला प्रहरी कार्यालय पनि नियन्त्रणमा लिइसकिएको बताएका छन् । यसबारेमा घानी सरकारको तर्फबाट भने कुनै प्रतिक्रिया भएको छैन । आइतबार दिउँसैदेखि तालिबानी लडाकूहरु राजधानी काबुल प्रवेश गरेका थिए ।

तालिबान लडाकूहरुले १० दिनको अवधिमा अफगानिस्तानका प्रमुख सहरहरू नियन्त्रणमा लिएका छन् । आफ्नो सरकारले तालिबान विद्रोहीहरुलाई रोक्न नसकेपछि घानी राजीनामा दिनुपर्ने अवस्थामा पुगेका थिए । तर आइतबार दिउँसोसम्म पनि राष्ट्रपतिको कार्यालयले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न वार्ता भइरहेको जनाएको थियो । सरकारी अधिकारीहरुले स्थिति नियन्त्रणमा नै रहेको दाबी गरेका थिए ।

तालिबान समूहले भने काबुलमा हिंसा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्कन दिन लडाकुहरूलाई निर्देशन दिएको थियो । विद्रोहीहरुले देशका अन्य भागलाई आफ्नो नियन्त्रणमा लिन थालेपछि हजारौँ मानिस शरणका लागि काबुल आएका थिए ।

सम्बन्धित समाचार