लक्ष्मी सन्‌राइज बैंकको अगुवाइमा वित्तीय संस्था र रेमिट हाइड्रोबीच लगानी सम्झौता

Image

लक्ष्मी सन्‌राइज बैंक लिमिटेडको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैंकहरू र रेमिट हाइड्रो लिमिटेडबीच लगानी सम्झौता भएको छ ।​ ताप्लेजुङस्थित घुन्सा नदीमा निर्माण हुने ७७.५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत् आयोजनामा लगानी गर्ने सम्झौता भएको बैकंले जनाएको छ ।

सो आयोजनाको कुल लागत १८ अर्ब १३ करोड रुपैयाँ रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय उर्जा परिदृश्यमा महत्त्वपूर्ण भूमिका खेल्नेछ ।​​​​ घुन्सा खोला जलविद्युत आयोजनाले २०७९ साउन ८ मा विद्युत् विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत् उत्पादनको अनुमति पत्र लिएको थियो ।

साथै आयोजनाले २०८१ वैशाख २१ गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौतासमेत गरिसकेको छ । सो कम्पनीको मुख्य प्रवर्द्धनको रूपमा नेपाल विद्युत् प्राधिकरण, हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र विद्युत् उत्पादन कम्पनी लिमिटेडको संयुक्त लगानी ५१ प्रतिशत हुनेछ ।

सो परियोजना निर्माणका लागि लक्ष्मी सन्‌राइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरूले परियोजना लागतको ७० प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन् । बाँकी ३० प्रतिशत रकम कम्पनीका संस्थापक तथा साधारण प्रवर्द्धकहरूबाट लगानी हुनेछ ।

लक्ष्मी सन्‌राइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता ५ अर्ब रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंक तथा वित्तीय संस्थाहरू मध्ये हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको ३ अर्ब, नागरिक लगानी कोषको २ अर्ब, माछापुच्छ्रे बैंकको १ अर्ब ४४ करोड र एभरेष्ट बैंकको १ अर्ब २५ करोडसमेत गरी जम्मा १२ अर्ब ६९ करोड ४० लाख रहेको छ ।

सो आयोजना डिसेम्बर २०३० भित्र निर्माण सम्पन्न भई विद्युत् उत्पादन भएपश्चात वार्षिक करिब ४६२.२८ गिगावाट आवर इनर्जी विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान हुँदा यो नेपाल सरकारको जनताको जलविद्युत कार्यक्रम– नेपालको पानी जनताको लगानी जलविद्युत् आयोजनामा थप टेवा पुग्ने विश्वास लिइएको छ ।