सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता, यी कार्य गरे हुनेछ एक करोडसम्म जरिवाना

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ ।

राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त विधेयक दर्ता गराएका हुन् ।

सामाजिक सञ्जालबाट हिंसा, घृणा फैलाउने र सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षा तथा मुलुकको अखण्डतामा प्रश्न उठाउनेलाई कडा कारबाहीको प्रावधानसहितको विधेयक संसद्‌मा दर्ता भएको छ । सामाजिक सञ्जाल सञ्चालक तथा प्रयोगकर्तालाई जिम्मेवार र जवाफदेही बनाउँदै सभ्य समाजको निर्माण गर्ने विधेयकमा भनिएको छ ।

देशको सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा र मुलुकको अखण्डताका विरुद्ध हुनेखालका पोस्टलाई अपराध करार गर्दै कडा कारबाहीको व्यवस्था प्रस्ताव गरिएको छ ।

यस्तै, व्यक्तिको चरित्रमा गम्भीर प्रश्न उठाउने, घृणा फैलाउने र हिंसा भड्काउनेलाई पनि कडा सजाय प्रस्तावित छ ।

प्रस्तावित विधेयकमा यस्ता अपराध सामाजिक सञ्जालमार्फत गर्नेलाई २५ लाखदेखि एक करोड रुपैयाँसम्म सजाय हुने कानुनको मस्यौदा छ ।