एसियाभरका करोडौँ मानिसले बुधबार आफ्ना परिवारसँग चन्द्र नयाँ वर्ष मनाउँदै ड्रागनको वर्षलाई बिदाइ गरी सर्पको वर्षको स्वागत गरेका छन् ।
चिनियाँहरूले सन् २०२५ को वसन्त महोत्सवका लागि लगातार आठवटा सार्वजनिक बिदा पाउँछन् । यसमा खाना बाँड्ने, परम्परागत प्रदर्शनहरू हेर्ने र पटाका तथा आतसबाजी गर्ने अवसर पाउँछन् ।
वार्षिक रूपमा हुने यस जनसङ्ख्या स्थानान्तरणमा लाखौँ मानिस आफ्ना प्रियजनहरूसँग बिदा मनाउन घर फर्किने क्रममा देशभरका रेल स्टेशन र विमानस्थलहरू हप्तौँदेखि भीडभाडले भरिएका छन् । यसले यस वर्ष रेकर्ड बनाउने अपेक्षा गरिएको छ ।
दक्षिण कोरिया, सिङ्गापुर, भियतनाम र थाइल्यान्डसहित पूर्वी र दक्षिणपूर्वी एसियाका धेरै भागमा उच्च सडकहरू, सपिङ मलहरू, कार्यालयहरू र घरहरू चाडपर्वको रातो ब्यानरहरूले सजाइएको छ ।
ताइवानमा बुधबार बिहान, सबै उमेरका मानिस टापुभरका मन्दिरहरूमा फलफूल, मिठाई, क्र्याकर र बदाम चढाउन, ध्यान गर्न र प्रार्थना गर्न भेला भएका थिए ।
“हाम्रो परम्परा भनेको यस वर्षको राम्रो भाग्यका लागि मन्दिरमा गएर प्रार्थना गर्नु हो”, ३६ वर्षीया चेन चिङ–युआनले आफ्नी आमासँग ताइपेईको लोङ्सन मन्दिर भ्रमण गर्दै भने, “कुनै विशेष कुरा माग्नु आवश्यक छैन, केवल सहज, शान्तिपूर्ण, सुरक्षित र स्वस्थ वर्षको कामना गर्ने र सबै ठिक होस् भनेर प्रार्थना गर्ने ।”
७३ वर्षीय लिन यु–सुनले आफ्नो परिवारसँग लोङ्सन मन्दिर भ्रमण गर्दा ‘प्रार्थना गर्दा हामीलाई आध्यात्मिक सान्त्वनाको अनुभूति’ हुने बताए । केही मन्दिर–यात्रीहरूले सौभाग्यको खोजीमा पहिलो धूप बाल्ने दौडमा सहभागी भएर नयाँ वर्षको स्वागत गरे ।
“म बूढो हुँदा पछुतो नहोस् भनेर मैले यसमा सहभागी हुने निर्णय गरेँ”, ताइवानको मध्य–पश्चिमी युनलिन काउन्टीको फुसिङ मन्दिरमा प्रतियोगिता जितेपछि काओ मेङ–शुनले भने, “म जबसम्म जवान छु र ऊर्जा छ, यो कार्य गर्ने र यसको सदुपयोग गर्ने उत्तम समय हो ।”