सामाजिक सञ्जाल फेसबुक सञ्चालक कम्पनी मेटाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक अकाउन्ट निलम्बन गरेको मुद्दामा सम्झौता गर्न सहमति जनाएको छ ।
२०२१ जनवरी ६ मा अमेरिकाको राजधानी वासिङ्टन डिसीस्थित यूएस क्यापिटल (अमेरिकी संसद्) भवनमा हिंसात्मक घटना भएको थियो ।
ट्रम्प समर्थकहरूले अमेरिकाको राष्ट्रपतिमा जो बाइडेनको निर्वाचित भएको घोषणा रोक्नका लागि क्यापिटल भवनमा जबरजस्ती प्रवेश गरेका थिए । यो घटना लगत्तै फेसबुकले ट्रम्पको अकाउन्ट निलम्बन गरेको थियो । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल खाताहरू निलम्बन गरेर कम्पनीले आफ्नो अधिकार उल्लङ्घन गरेको आरोप लगाउँदै मुद्दा दायर गरेका थिए । सन् २०२४ जुलाईमा मेटाले उक्त प्रतिबन्ध फुकुवा गरेको थियो ।
मेटाका कानुनी सल्लाहकारहरूले यो मुद्दामा मेटाले ट्रम्पको राष्ट्रपति पुस्तकालयलाई २२ मिलियन डलर अनुदान दिने र कानुनी शुल्कबापत तीन मिलियन डलर तिर्न तयार रहेको एबीसीले जनाएको छ ।