हमासले सार्वजनिक गर्‍यो शनिबार छाडिने तीन बन्धकको नाम

Image

हमासले चौथो चरणमा शनिबार मुक्त गर्ने बन्धकहरूमा पनि नेपाली विद्यार्थी विपिन जोशी नपर्ने निश्चित भएको छ। हमासले शनिबार छाडिने बन्धकहरूको नाम शुक्रबार घोषणा गरेको छ। जसमा तीन इजरायली पुरुष छन् अर्थात् विपिन जोशीको नाम छैन।

सीएनएनका अनुसार हमासले शनिबार गाजाबाट मुक्त गर्ने तीन पुरुषमा किथ सिगेल, यार्डेन बिबास र ओफर काल्डेरोन छन्। उनीहरूको परिवारलाई यो जानकारी गराइएको इजरायली प्रधानमन्त्रीको कार्यालयले बताएको छ।

इजरायल र प्यालेस्टिनी इस्लामी लडाकु समूह हमासबीच भएको गाजा युद्धविराम सम्झौताअनुसार शनिबार चौथोपटक बन्धक-कैदी आदानप्रदान गर्न लागेका हुन्।

जनवरी १९ देखि युद्धविराम लागू भएयता हमासले तीनपटक गरेर अहिलेसम्म १५ जना बन्धकलाई मुक्त गरिसकेको छ भने बदलामा इजरायलले २९० प्यालेस्टिनी कैदी रिहा गरेको छ।

इजरायलका सञ्चारमाध्यमका अनुसार हमास समूहको नियन्त्रणमा २५१ जना रहेकोमा ३४ जनाको मृत्यु भइसकेको छ। तर विपिन जोशी जीवितै रहेको इजरायली अधिकारीले बताइरहेका छन्।

हमासले २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा अप्रत्याशित आक्रमण गरेर नेपाली विद्यार्थी विपिन जोशीसहित २ सय ५१ जनालाई लगेको थियो।

आक्रमणका बेला १० नेपाली विद्यार्थी भने मारिएका थिए।