अफगानिस्तानको काबुलस्थित विमानस्थलमा अमेरिकी सेनाले चलायो गोली

अफगानिस्तानको काबुलस्थित विमानस्थलमा अमेरिकी सेनाले गोली चलाएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार सोमबार विमानस्थलमा मुलुक छाड्नेको ठूलो भीड देखिएको अवस्थामा अमेरिकी सेनाले गोली चलाएको हो ।

तालिबानहरूले देश कब्जा गरेपछि अफगानिस्तानको राजधानी काबुलस्थित विमानस्थलमा देश छोड्नेको लर्को लागेको छ । अत्यधिक भीडको कारण अहिले काबुलको अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त देखिएको छ । कुनै सिस्टमबिनै जसले सक्छ उही जहाजभित्र चढेको देखिन्छ । धावनमार्गमा मानिसहरू बसपार्कमा गाडी चढ्न गएजसरी हिँडिरहेका देखिन्छन् ।

विमानस्थलमा अनियन्त्रित भिड भएपछि सोमबार बिहान केही राउन्ड हवाई फायर गरिएको एएफपीले जनाएको छ ।

डेलिमेलका अनुसार काबुलको विमानस्थलमा गोली चलेसँगै सैन्य उडानबाहेकका सबै उडान रद्द गरिएको छ । अहिले विमानस्थललाई अमेरिकी सेनाले सुरक्षा दिइरहेको छ । साथै उसले अफगानिस्तानको एयर ट्राफिक कन्ट्रोललाई पनि आफ्नो नियन्त्रणमा लिएको छ ।

समाचारमा उल्लेख गरिएअनुसार नेटोका एक अधिकारीले सेनाको विमानबाहेक अन्य सबै व्यवसायिक उडान रद्द गरिएको जानकारी दिएका हुन् । नेटोले विमानस्थललाई पुनः सञ्चालनमा ल्याउन प्रयास गरिरहेको बताएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार