पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ लाई नेकपा माओवादी केन्द्रको कृषि र उत्पादन विभागको जिम्मेवारी मिलेको छ ।
सोमबार बसेको पार्टी पदाधिकारी बैठकले तत्काल पद नदिएको तर, जिम्मेवारीका हिसाबले उत्पादन र कृषि क्षेत्रको जिम्मेवारी दिएको हो ।
माओवादी केन्द्रका एक पदाधिकारीले पासाङलाई पार्टीमा कुन तहको जिम्मेवारी दिने भन्ने विषयमा निर्णय नभइसकेको बताउँदै हाललाई उनको रुचीको क्षेत्र रहेकाले उत्पादनको जिम्मेवारी दिइएको जानकारी दिए । उनी हाल पार्टीका बैठकहरूमा उपाध्यक्षको हैसियतमा सहभागी भइरहेका छन् ।
२०७२ कार्तिक १३ गते पहिलोपटक उपराष्ट्रपति भएका उनी दोस्रो कार्यकाल दोहोरिएर २०७९ चैत ६ गते उपराष्ट्रपतिको भूमिकाबाट बाहिरिएका थिए । त्यसपछि निस्क्रिय रहेका उनी गत पुसमा बसेको माओवादी केन्द्रीय समिति बैठकभन्दा यता निरन्तर उपस्थित भइरहेका थिए ।