चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता

Image

साहारा सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आज चितवनमा मुद्दा दर्ता भएको छ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा उनीसहितका १५ जनाविरुद्ध हिजै दर्ता गर्ने तयारी गरेको मुद्दा मंगलबार दर्ता भएको हो ।

चितवन जिल्ला अदालतमा सोमबार नै मुद्दा दर्ताको तयारी थियो तर सरकारी वकिलहरूको कार्य व्यस्तताका कारण हिजो दर्ता हुन सकेको थिएन ।

सरकारी वकिल कार्यालयले लामिछानेसहित १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध सहकारीको रकम हिनामिना गरेर ठगी गरेको अभियोगसहित मुद्दा दर्ता गरेको हो ।

चितवन जिल्ला सरकारी वकिल कार्यालयले यसअघि ढाँचा र तथ्यतथ्यांक नमिलेको भन्दै पुनः अनुसन्धान प्रक्रिया सकेर प्रतिवेदन पेस गर्न प्रतिवेदनको फाइल प्रहरीलाई फर्काएको थियो । त्यसको केही दिनपछि प्रहरीले प्रक्रिया मिलाएर सरकारी वकिल कार्यालयमा फाइल पठाएको थियो । त्यसको अध्ययन सकेर आज (मंगलबार) सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो ।

रविलाई सहकारी ठगीमा मात्रै मुद्दा दर्ता गरिएको छ भने अन्य केहीलाई संगठित अपराध कसुरमा पनि मुद्दा दर्ता गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ । प्रहरीको अनुसन्धान प्रतिवेदनमा यो सहकारीको ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको उल्लेख छ । सहकारीबाट विभिन्न कम्पनीमा गएको रकमसमेत गर्दा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो कायम हुनुपर्ने राय प्रहरीको छ ।

यसअघि रवि लामिछाने विभिन्न जिल्लाका सहकारीको मुद्दाबाट धरौटी रकममा छुटेका थिए । सुरुमा कास्कीको सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख, त्यसपछि काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको मुद्दामा ६५ लाख र रुपन्देहीको सुप्रिम सहकारीको मुद्दामा एक करोड धरौटी बुझाएर उनी छुटेका हुन् । चितवनपछि उनीविरुद्ध वीगगञ्जको सानो पाइला सहकारीको बचत अपचलनमा अनुसन्धान भएको छ ।