भौतिकमन्त्रीले ढुंगा खाने स्थिति बन्यो : बास्कोटा (भिडियो)

Image

नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले खावादेखि धुलिखेलसम्मको बाटो लामो समयदेखि नबनेको भन्दै आपत्ति जनाएका छन् ।

आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले यो बीचमा चार वटा प्रधानमन्त्री फेरिएको, मन्त्रीहरु फेरिएको तर चार किलोमिटर बाटो नबनेको उनले बताए । अब पनि त्यो सडक नबने त्यहाँका जनताले नेताहरुलाई ढुङ्गा हान्ने स्थिति बनेको उनले बताए ।

‘चार वटा प्रधानमन्त्री फेरियो । चारैवटा मन्त्री, सचिव कतिवटा हो मलाई थाहा छैन । चार किलोमिटर बाटो खावादेखि धुलिखेलसम्मको बनेन । भौतिकमन्त्रीको कानमा बतास पसोस् भन्ने माग गर्छु । यही कुरा भन्दिनु भनेका छन् त्यहाँका जनताले । नभए ढुङ्गा खानेस्थिति बन्यो अब,’ उनले भने ।

अहिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल छन् । उनी नेकपा (एमाले) का नेता हुन् ।

उनले काभ्रे तरकारीका लागि पकेट क्षेत्र भएको उल्लेख गर्दै कोल्डस्टोर निर्माणका लागि बजेटको व्यवस्था गर्न समेत माग गरे ।  काठमाडौंका १७ प्रतिशत तरकारी काभ्रेले खपत गर्दै आएको उनको भनाइ छ ।

Share